के सडक दुर्घटनामा मृत्यु हुनेको चाहिं जीवन होइन ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
म्याग्दी,१४ असोज । गत मंगलबार म्याग्दीको हिस्तानमा यात्रुवाहक जिप दुर्घटना हुदा घटनास्थलमै १३ जनाको मृत्यु भयो । राम्चेबाट यात्रु लिएर सदरमुकाम बेनी आउँदै गरेको १ ज ४३२४ हिस्तानको ७ र ८ वडामा पर्ने गिद्देश्वर मन्दिर नजिकै दिउँसो दुर्घटना भएको थियो । मृतकको शव निकाल्न समेत उद्धारकर्मीलाई एकदिन लाग्यो । जोखिमपूर्ण सडक र लापरवाहीका कारण म्याग्दी र आसपासका क्षेत्रमा एकपछि अर्को ठुलो सडक घटना हुन थालेको छ ।




जोखिमपुर्ण सडक  र ब्यक्तिगत लापरवाहीका कारण ६ बर्षको अन्तरालमा म्याग्दीमा ६ ठूला र दुई दर्जन भन्दा बढि सडक दुर्घटना भएका छन् । एक पछि अर्को दुर्घटना बढ्दै जान थालेपछि सडक मार्ग विस्तारै असुरक्षित बन्दै गइरहेको छ । सडक, सिकारू चालक,कमसल पार्टपुर्जा,सवारी चालक अनुमति पत्र वितरणमा चलखेल, मादकपदार्थ सेवन गरी सवारीसाधान चलाउँदा सडक दुर्घटनाको मार्गको रुपमा विकास भइरहेको छ ।

विगत पाँच वर्षमा मात्रै म्याग्दीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७० जना भन्दा बढीको मृत्यु भएको छ । २०६५ साल असोज १६ गते बेनी–दरबाङ सडक अन्तरगत तोलावाङमा ना ३ ख ४८०९को बस दुर्घटना हुदाँ ३ जना यात्रुको मृत्यु भएको थियो भने २०६६ साल साउन १२ गते बेनी–दरबाङ सडककै बेनीनगरपालिका डम्बरामा ना ३ ख ४३७९ नम्बरको माईक्रोबस दुर्घटनाग्रस्त हुदाँ ७ जनाको मृत्यु भयो । यस्तै २०६७ असोज १९ गते मुस्ताङको प्रशिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा सोह्रश्राद्धमा जाने क्रममा म्याग्दीको दाना गाविस –१ को बाँदरजुङ भिरमा जिप दुर्घटनाग्रस्त हुदाँ १४ जनाको मृत्यु भएको थियो । २०६८ साउन ७  गते बेनी–जोमसोम सडक अन्तरगत ग १ त १२३९ नम्बरको ट्याक्सी घतान–६ स्थित जलेश्वरबाट कालीगण्डकीमा खस्दा चालक सहित सातजना बेपत्ता भएका थिए । ट्याक्सी दुर्घटनामा परेका एक यात्रुबाहेक अन्यको यात्रुको शव अहिलेसम्म फेला परेको छैन ।
२०६८ असोज १ गते  आइतबार बेनी दरबाङ सडककको बाबियाचौर–८ रणबाङको उकालोमा ग १ ख २७०४ नम्बरको मिनीबस दुर्घटना हुदाँ १३ जनाको मृत्यु भएको थियो । २०७० साल कात्तिक १४ गते म्याग्दी हुदै पर्वतको साजिला जाने क्रममा जिप दुर्घटना हुदाँ १४ जनाको मृत्यु भएको थियो । यसरी पछिल्ला बर्षहरुमा म्याग्दीका सडकमा भएका सडक दुर्घटनाका कारण अपूरणीय मानवीय क्षति व्यहोनुपरेको छ । यस्ता दुर्घटनामा चालक मात्रै होइन हरेक पक्ष जिम्मेवार रहेको म्याग्दी जिप तथा बस सञ्चालक समितिका सचिव सुमन श्रेष्ठको भनाइ छ ।



यसरी पटक पटक सडक दुर्घटनाहरु भइरहनुमा जोखिमपूर्ण सडकसँगै सस्तो मुल्यका मेसिनरी सामानको प्रयोग र अनुभव नभएकालाई समेत धमाधम लाइसेन्स वितरण गर्नु मूख्य कारण रहेको विश्लेषकहरुको भनाइ छ । तर प्रत्येकबर्ष हुने यस्ता सडक दुर्घटनाबाट हुने गरेका मानवीय क्षति न्युनिकरण गर्ने विषयमा अहिलेसम्म अनुसन्धान तथा बहस नभएकोमा सरोकारवाला निकाय समेत चिन्तित छन् ।

आम नागरिकको सुविधाका लागि भन्दै सरकारले सडक विस्तार तथा निर्माणमा करोडौको खर्च गर्ने गरेका छन् । तर निर्माण कम्पनी र ठेगेदारहरुले कमसल साम्रागीको प्रयोग गर्ने गरेका छन् । यसले गर्दा सडकको गुणस्तर पनि कमसल हुनु स्वभाविक हो । जुन् सामान्य बर्षातमा पनि भत्किएर खाल्डाखुल्डीमा रुपान्तरण हुने गरेका छन् ।

अझ दुखको कुरा त सडकमार्गमा दुर्घटना भएको एकदुईदिन त्यसका बारेमा चर्चा हुने गरे पनि वास्तविक कारण पत्ता लगाउन छानविन समिति मार्फत अनुसन्धान गर्नेतर्फ कसैको चासो जाने गरेको छैन । सामान्य हवाई दुर्घटना भएको दुईमिनेटमै उच्चस्तरीय छानविन समिति बनाउने गरिन्छ, तर ठूलो मानविय क्षति हुने गरी भएका सडक दुर्घटनाप्रति भने राज्यले कहिल्यै गम्भीर चासो नदिएको यात्रुहरुको गुनासो छ । यस्तोमा के हवाई यात्रुको मात्र जीवनको मूल्य हुने हो ? सडक दुर्घटनामा मारिनेहरुको चाहिं जीवन नै होइन त ? भन्ने सर्वसाधारणहरुको प्रश्न उठान गलत हो भन्न सकिन्न ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses